बिर्तामोड– हुन्डाईको नयाँ पुस्ताको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ झापाको बिर्तामोडमा औपचारिक रूपमा भित्रिएको छ । बिर्तामोडस्थित एलाइन्स मोटर्सको हुन्डाई सोरुममा बुधबार आयोजित कार्यक्रममा नयाँ भेन्यु सार्वजनिक गरिएको हो ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईसहित स्थानीय व्यवसायीले संयुक्त रूपमा ‘अल न्यु भेन्यु’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडमै विश्वस्तरीय ब्रान्डका नयाँ गाडी उपलब्ध हुनु स्थानीय बजार विस्तारको संकेत भएको बताइन् ।
उनले विगतमा नयाँ गाडी खरिद गर्न काठमाडौंलगायत ठूला सहर धाउनुपर्ने अवस्था रहे पनि अहिले बिर्तामोडमै विभिन्न ब्रान्डका गाडी तथा बिक्रीपछिको सेवा उपलब्ध हुन थालेको बताइन् । बिर्तामोडमा अटोमोबाइल व्यवसायको विस्तारले यस क्षेत्रको आर्थिक गतिविधि र बजारको आकार बढिरहेकोसमेत उनले उल्लेख गरिन् ।
नयाँ भेन्यु नेपालमा ‘मेड इन नेपाल’ मोडलका रूपमा समेत आएको छ । नेपालमा यसको बिक्री लक्ष्मी इन्टरकन्टिनेन्टलले गर्दै आएको छ । नयाँ पुस्ताको भेन्युमा अघिल्लो पुस्ताको तुलनामा डिजाइन, प्रविधि, आराम र सुरक्षा सुविधामा उल्लेख्य सुधार गरिएको कम्पनीले जनाएको छ ।
नयाँ भेन्युमा ट्विन हर्न एलइडी डीआरएल, होराइजन एलइडी रियर ल्याम्प, डार्क क्रोम ग्रिल, डिजिटल क्लस्टर, १०.२५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफ जस्ता सुविधा छन् ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोलजस्ता सुविधा उपलब्ध छन् ।
एलाइन्स मोटर्सका तर्फबाट हुन्डाईका सेल्स हेड दिवाकर रेग्मीले नयाँ भेन्युका विशेषता, प्रविधि र उपलब्ध भेरियन्टबारे जानकारी दिएका थिए । नेपालमा नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा एलाइन्स मोटर्सका सञ्चालक यम विमलीले बिर्तामोडमा हुन्डाईको कारोबार सुरु भएयता ५१० वटा गाडी बिक्री भइसकेको जानकारी दिए । नयाँ भेन्युको सार्वजनिक कार्यक्रमसँगै बिक्री भएको गाडी एलाइन्सको ५११औँ गाडी बनेको उनले बताए ।
५११ औँ गाडी बिर्तामोडका निताईसिंह राजवंशीले खरिद गरेका छन् । कार्यक्रममा राजवंशीलाई नयाँ भेन्युको चाबी हस्तान्तरण गरिएको थियो ।
एलाइन्स मोटर्सका सञ्चालक ओम विमलीले कार्यक्रममा सहभागी तथा ग्राहकप्रति धन्यवाद व्यक्त गर्दै बिर्तामोड र आसपासका ग्राहकलाई गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
हुन्डाईको आधिकारिक विवरणअनुसार बिर्तामोडमा रहेको एलाइन्स मोटर्स बिक्रीसँगै हुन्डाईको सेवा केन्द्रका रूपमा पनि सूचीकृत छ ।


















