१७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026

विपद् राहत कोषमा मुस्लिम समाज विकास प्रतिष्ठानको १ लाख २८ हजार सहयोग



बिर्तामोड-भदौ १० गते रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८ हजार ६ सय ८० रुपैयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानले मुस्लिम समुदायका विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । रकम राष्ट्रिय वाणिज्य बैंक, बिर्तामोड शाखामार्फत कोषमा जम्मा गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष अफ्रोज खान पठानको नेतृत्वमा रकम संकलन गरिएको हो । बाढी तथा विपद्का कारण ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेकाले मानवीय दायित्वका रूपमा सहयोग गरिएको अध्यक्ष पठानले बताए ।

‘विपद्को पीडा कुनै समुदाय विशेषको मात्र होइन, सबैको साझा पीडा हो,’ पठानले भने, ‘यस्तो कठिन समयमा सबैले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्छ ।’

प्रतिष्ठानले धार्मिक तथा सामुदायिक सीमाभन्दा माथि उठेर मानवीय सेवा, सामाजिक सद्भाव र आपसी सहयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ । 

विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक जिम्मेवारी भएको भन्दै संस्थाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बाढीबाट घर, सम्पत्ति तथा आफन्त गुमाएका परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समुदायबाट रकम संकलन गरी पारदर्शीरूपमा राहत कोषमा उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ  ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार ००:००  १२ : ४७ बजे