विराटनगर– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी कोशी प्रदेशका १३ जिल्लाका १५९ जना अझै सम्पर्कविहीन छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, व्यवसाय, धार्मिक यात्रा तथा अन्य कामका सिलसिलामा पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेका कोशी प्रदेशका नागरिकमध्ये पाँच जनाको जीवित उद्धार भएको छ भने २७ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् ।
एक जनाको मृत्यु भएको र एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी आउनुअघि प्रभावित क्षेत्रमा कोशी प्रदेशका १९३ जना रहेको विवरण संकलन गरिएको थियो ।
उनीहरूमध्ये उद्धार, सम्पर्क र मृत्युको विवरणपछि पनि १५९ जनाको अवस्था अझै अज्ञात छ । सबैभन्दा धेरै सोलुखुम्बुका नागरिक सम्पर्कविहीन छन् । सोलुखुम्बुका ४५ जनामध्ये ३ जना सम्पर्कमा आएका छन् भने ४२ जना अझै बेपत्ता छन् ।
भोटेकोशी बाढीको राष्ट्रिय मानवीय क्षति झन् भयावह देखिएको छ । नेपाल प्रहरीका अनुसार मंगलबार बिहान १० बजेसम्म १ हजार ७ जनाको शव फेला परेको छ ।
तीमध्ये रसुवामा ३८, नुवाकोटमा १०३, धादिङमा ५६, चितवनमा ३२१, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६५ र भारतमा पाँच जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलबार बिहान ९ बजेसम्मको विवरणमा भने ९८७ जनाको मृत्यु र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको उल्लेख छ । बाढीमा २७९ जना घाइते भएका छन् ।
बाढीपछि रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदीको बहावले बगाएका शव विभिन्न जिल्लामा भेटिइरहेका छन् । शवको पहिचान र बेपत्ताको खोजीका लागि सुरक्षा निकायले खोज तथा उद्धार अभियान जारी राखेको छ ।
सञ्चार तथा यातायात सम्पर्कमा आएको अवरोध र बाढीले क्षतिग्रस्त भौगोलिक अवस्थाका कारण बेपत्ताको यकिन विवरण संकलनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


















