१५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026

सरकारी गाली पचाएर एमाले विपदमा जुट्छ : अध्यक्ष गिरी



बिर्तामोड– नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा राजनीतिक आग्रह-पूर्वाग्रह त्यागेर एकताबद्ध हुनुपर्ने बताएका छन् ।

गिरीले विपद्का बेला सबै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकको ध्यान पीडित नागरिकको उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनका अनुसार खोज, उद्धार, राहत, सुरक्षा, उपचार, पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई सरकारले प्रभावकारीरूपमा नेतृत्व गर्नुपर्छ ।

उनले विपद्को यो घडीमा समेत एमालेविरुद्ध भ्रम र घृणा फैलाउने गतिविधि भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन् । सरकारका संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गर्दै उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न उनले आग्रह गरेका छन् ।

‘खोज, उद्धार, राहत, सुरक्षा, उपचार, पुनर्निर्माण, पुनर्स्थापना र भयरहित सामाजिकीकरणको प्रक्रियामा एकताबद्ध भएर लाग्नु अहिलेको आवश्यकता हो,’ अध्यक्ष गिरीले भनेका छन्, ‘यस कामको अभिभावकत्व सरकारले गर्नुपर्छ र हामी सबैले सहयोग गर्नुपर्छ।’

उनले रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि ‘जो जहाँ छ, जोसँग जे छ र जे सकिन्छ’ त्यही सहयोग गर्न आह्वान गरेका छन् ।

‘आपतविपद्को यो बेला गालीको प्रवाह नगरौँ, सरकारलाई सहयोग गरौँ,’ अध्यक्ष गिरीले भने, ‘सरकारी गाली पचाएर एमाले कर्तव्यमा लागिरहन्छ ।’

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ००:००  ७ : ४२ बजे