२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा



झापा– वैदेशिक रोजगार विभागले विभागीय स्वीकृतिविनै विदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने थप ३९ म्यानपावर कम्पनीलाई ५०–५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

विभागका अनुसार ती संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत विदेशी विमानस्थलबाट श्रमिक पठाएको पुष्टि भएपछि दफा ५४ अनुसार दोस्रो पटक कसुर दोहोरिएको ठहर गर्दै कारबाही गरिएको हो ।

विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ सम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो । सो अवधिमा अनुमति नलिई विदेशी विमानस्थल प्रयोग गरेका तथा विवरण नबुझाएका गरी हालसम्म ५९८ म्यानपावर कारबाहीमा परिसकेका छन् ।

यसअघि विभागको निर्देशनपछि विवरण बुझाए पनि विदेशी विमानस्थल प्रयोग गरेको पुष्टि भएका ३९ संस्था अहिले जरिबानामा परेका हुन् । यस्तै, दुई पटकसम्म पनि विवरण पेश नगर्ने १२४ म्यानपावरसँग ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिनभित्र स्पष्टीकरण मागिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार ००:००  १२ : ४७ बजे