झापा-नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिले पत्रकार तथा महासंघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेको चरित्रहत्या, मानमर्दन र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
महासंघका अनुसार झापाको हल्दिबारी गाउँपालिका-१ निवासी नवराज ओली (नितेश) ले केही समयदेखि नेपाल पत्रकार महासंघ झापा शाखा, त्यसका पदाधिकारी तथा क्रियाशील पत्रकारहरूलाई लक्षित गर्दै फेसबुक, म्यासेन्जरलगायत सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक र कपोलकल्पित सामग्री निरन्तर प्रसारण गर्दै आएका छन् ।
केन्द्रीय समितिले सोमबार जारी गरेको विज्ञप्तिमा पत्रकार र पत्रकारितालाई बदनाम गर्ने उद्देश्यले भइरहेको यस्ता गतिविधिले प्रेस स्वतन्त्रतामाथि नै चुनौती सिर्जना गरेको उल्लेख गरेको छ । महासंघले पत्रकार तथा संस्थाको मानमर्दन र चरित्रहत्या गर्ने कार्य तत्काल रोक्न र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
महासंघका अनुसार यसअघि साइबर अपराधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दर्ता भई जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । त्यसका बाबजुद पनि सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाउने, गालीगलौज गर्ने र पत्रकारलाई धम्क्याउने गतिविधि नरोकिएको महासंघको भनाइ छ ।
कोशी प्रदेश समितिले पनि छुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारको परिचय दुरुपयोग गरी विभिन्न सञ्चारमाध्यमको नाममा उद्योगी-व्यवसायीसँग रकम मागेको विषयमा उजुरी परेपछि सम्बन्धित व्यक्तिलाई सचेत गराइएको भए पनि त्यसपछि महासंघ र पत्रकारमाथि निराधार आरोप, मानमर्दन तथा दुष्प्रचार जारी राखिएको जनाएको छ ।
प्रदेश समितिले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, चरित्रहत्या, अफवाह फैलाउने, धम्की दिने तथा ज्यानसमेत लिने धम्कीका घटनाले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गरेको छ ।
महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिले यस्ता गैरकानुनी तथा अराजक गतिविधिको भर्त्सना गर्दै सम्बन्धित निकायलाई दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।
दुवै समसतिले पत्रकारलाई त्रसित बनाउने र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।


















