नेपालगञ्ज-बाँकेको नेपालगञ्जबाट करिब ५७९ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यसअघि लागुऔषध मुद्दामा कैद भुक्तान गरिसकेका एक व्यक्ति पनि रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका-४ बाट ३० वर्षीय सुशील भण्डारी र ५५ वर्षीय अरुणकुमार जयसवाल लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भारतको बाह्रपंखीबाट खैरो हेरोइन खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री-वितरण गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक खानतलासीका क्रममा उनीहरूको साथबाट १५३.९५० ग्राम खैरो हेरोइन बरामद भएको थियो । त्यसपछि जयसवालको घरमा गरिएको खानतलासीका क्रममा कोठाभित्रको दराजमा लुकाइराखिएको थप ४२५ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
यससँगै कुल ५७८.९५० ग्राम खैरो हेरोइन बरामद भएको हो । प्रहरीले घटनास्थलबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, एक लाख ८० हजार नेपाली रुपैयाँ तथा दुई लाख १४ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका जयसवाल यसअघि पनि लागुऔषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । उनी २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेर तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका अभिलेखबाट खुलेको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषध, नगद र अन्य सामग्रीसहित दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको प्रहरीले जनाएको छ ।


















