१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

काठमाडौं पठाउन लागिएको पार्सलबाट ब्राउन सुगर बरामद



विराटनगर– विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको पार्सलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने मुख्य योजनाकारको खोजी थालेको छ ।

बुधबार साँझ विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स सुज एक्स-रे मेसिनबाट परीक्षण गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाएर राखिएको १८.४८ ग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर-५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ । उनी उक्त पार्सल विमानस्थलसम्म पुर्‍याउन पुगेका बेला नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार रहेकाले खोजी तीव्र पारिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ ।

हालै विमानस्थल र कुरियर सेवामार्फत लागूऔषध ओसारपसारका प्रयास बढ्दै गएको अवस्थामा एक्स-रे परीक्षणका क्रममा उक्त ब्राउन सुगर बरामद हुनु सुरक्षा निकायका लागि महत्वपूर्ण सफलता मानिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार ००:००  १० : ५८ बजे