बिर्तामोड– जिल्ला प्रशासन कार्यालय झापाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन चलिरहेकै बेला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पत्रकारहरूलाई एकाएक आफू तल जानुपर्ने कारण सुनाए । “डाक्टरहरूको टोली ज्ञापनपत्र बुझाउन मेरो कार्यकक्षमा कुरिरहनुभएको छ,” पत्रकार सम्मेलनको प्रश्नोत्तर कार्यक्रम छोट्याउँदै उनी कार्यकक्षतर्फ लागे ।
प्रमुख जिल्ला अधिकारीसँगै नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव प्रदीप परियार, देशसञ्चारका उपसम्पादक उमाकान्त खनाल, प्रेस युनियन झापाका उपाध्यक्ष इश्वर अधिकारी लगायतका सञ्चारकर्मी पनि तल ओर्लिए ।
कार्यकक्ष बाहिर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रतीक्षामा थियो । प्रमुख जिल्ला अधिकारीले सबैलाई भित्र बोलाउँदै बस्न आग्रह गरेपछि चिकित्सक टोलीले आफूहरु भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालबाट आएको सुनायो ।
टोलीले नारायणी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै ज्ञापनपत्र वाचन सुरु गर्यो ।
तर, ज्ञापनपत्र बुझाउने क्रममा चिकित्सक टोलीले सामान्य प्रशासनिक मर्यादासमेत पालना गरेको देखिएन । प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै उठेर ज्ञापनपत्र वाचन गर्ने स्थापित अभ्यास रहे पनि टोलीले सोफामै बसेर पत्र पढ्यो ।
ज्ञापनपत्र बुझाउने औपचारिक कार्यक्रममा न्यूनतम शिष्टाचारका रूपमा मानिने यो अभ्याससमेत बेवास्ता गरिएको उपस्थित सञ्चारकर्मीले महसुस गरे ।
अझ रोचक पक्ष त के थियो भने चिकित्सकहरूले आफ्ना माग र भनाइ विस्तारपूर्वक सुनाए, तर प्रमुख जिल्ला अधिकारीको प्रतिक्रिया सुन्ने धैर्यसमेत देखाएनन । ज्ञापनपत्र हातमा थमाएर उनीहरू कुनै संवाद नगरी तत्काल कार्यकक्षबाट बाहिरिए ।
सामान्यतः ज्ञापनपत्र बुझाइसकेपछि सम्बन्धित पक्षले केही संवाद गर्ने, प्रशासनको धारणा सुन्ने र प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो प्रतिबद्धता व्यक्त गर्ने अभ्यास रहँदै आएको छ ।
चिकित्सक टोली बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी गेलालले उपस्थित सञ्चारकर्मीसँग असन्तुष्टि व्यक्त गरे ।
“उहाँहरूले कम्तीमा पनि मेरा कुरा पनि सुनेर जानुहुन्छ भन्ने लागेको थियो । तर त्यस्तो भएन। यस्तो त मैले अहिलेसम्म देखेको थिइनँ,” उनले भने ।
पत्रकार सम्मेलन नै बीचैमा छाडेर आफूलाई पर्खिरहेका चिकित्सकहरूको सम्मान गर्दै ज्ञापनपत्र बुझ्न कार्यकक्षमा पुगेका प्रमुख जिल्ला अधिकारीको प्रतिक्रिया नसुनी चिकित्सक टोली फर्किएपछि प्रशासनिक मर्यादा, संवाद संस्कार र औपचारिक शिष्टाचारबारे प्रश्न उठेको छ ।


















