१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

झापामा एक वर्षमा २४ हजार ८५१ नागरिकता वितरण, ९८ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र



बिर्तामोड-जिल्ला प्रशासन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै एक वर्षमा २४ हजार ८५१ जनालाई नागरिकता वितरण गरिएको जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला प्रशासन कार्यालय झापा तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जमार्फत वंशज, वैवाहिक अङ्गीकृत, अङ्गीकृत तथा गैरआवासीय नेपाली नागरिकता गरी २४ हजार ८५१ जनालाई नागरिकता प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही अवधिमा २१ हजारभन्दा बढी नागरिकले नागरिकताको प्रतिलिपिसमेत प्राप्त गरेका छन् ।

गत आर्थिक वर्षमा २४ हजार ४६६ जनालाई राहदानी वितरण गरिएको छ भने ९८ हजार ६९९ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । त्यस्तै, ९२९ जना नाबालकलाई परिचयपत्र वितरण गरिएको प्रशासनले जनाएको छ ।

संस्थातर्फ एक वर्षमा ७० वटा नयाँ संस्था दर्ता भएका छन् भने ६६६ वटा संस्था नवीकरण गरिएको छ । २९ वटा संस्थाको विधान संशोधन गरिएको छ भने दुई वटा संस्था खारेज भएका छन् ।

शैक्षिक प्रमाणपत्रमा देखिएका त्रुटि सच्याउन ७० जनाका लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा ८४ वटा हतियार नवीकरण भएका छन् भने एउटा हतियार नामसारी गरिएको छ ।

नागरिकतासम्बन्धी परेका १५ वटा उजुरीमध्ये १३ वटा फर्स्योट गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार ००:००  ८ : २१ बजे