भद्रपुर– झापाको भद्रपुर नगरपालिका-४ मा जंगली हात्ती छेक्न राखिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लाखबहादुर लिम्बूकी ६५ वर्षीया पत्नी सनज्योती लिम्बू रहेकी छन् ।
प्रहरीका अनुसार बिहान करिब ९ बजे आफ्नै बारीमा पुगेकी लिम्बू हात्ती छेक्न राखिएको नाङ्गो विद्युतीय तारमा छोइएपछि करेन्ट लागेर ढलेकी थिइन् । उनलाई बुहारी सविता खडकाले लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
सूचना पाएलगत्तै प्रहरी चौकी महेशपुरबाट प्रहरी सहायक निरीक्षक विशाल श्रेष्ठको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरीले पुग्दासम्म लिम्बूको मृत्यु भइसकेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















