भद्रपुर– झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बिहान करिब ११ बजे प्रशासन कार्यालयमा काम सकेर बाहिर निस्कँदै गरेकी भद्रपुर-९ की ९२ वर्षीया धनमाया खड्कालाई कारागार कार्यालयतर्फबाट आउँदै गरेको प्र १-०१-००२ च ०००५ नम्बरको सेतो कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले नै तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा संलग्न कार र चालक बुद्धशान्ति गाउँपालिका-२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















