बिर्तामोड-झापाको बिर्तामोड-१ स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलले करिब ४० लाख रुपैयाँ लगानीमा रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगशाला स्थापना गर्दै विद्यालय तहको शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान सुरु गरेको छ ।
विद्यालय परिसरमा आयोजित समारोहमा ‘एरो बे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन गरिएको हो । विद्यालयका संस्थापक तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराई प्रमुख अतिथि थिए ।
विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार प्रयोगशालाले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान, सिर्जनशीलता र नवप्रवर्तनको क्षमता विकास गर्न सहयोग पुर्याउनेछ ।

विश्वभर तीव्र गतिमा विस्तार भइरहेको रोबोटिक्स र कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान विद्यालय तहदेखि नै व्यवहारिक रूपमा सिकाउने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको उनले बताए ।
विद्यालयका कोअर्डिनेटर बर्नाट लामाका अनुसार प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, कोडिङ, कृत्रिम बुद्धिमत्ता, डिजाइन थिंकिङ, स्वचालन प्रविधि तथा समस्या समाधानसम्बन्धी परियोजनामार्फत व्यवहारिक सीप हासिल गर्नेछन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक बस्नेतले पाठ्यपुस्तकमा सीमित शिक्षा अब पर्याप्त नहुने बताए । भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
“अबका विद्यार्थीले प्रविधि प्रयोग गर्ने मात्र होइन, नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता पनि विकास गर्नुपर्छ,” उनले भने ।
प्रमुख अतिथि डा. भट्टराईले आधुनिक शिक्षामा गरिएको यस्तो लगानीले विद्यार्थीको सिकाइ उपलब्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा निरन्तर काम गर्ने अपेक्षा पनि उनले व्यक्त गरे ।
विद्यालयका अनुसार प्रयोगशालामा विभिन्न तहका विद्यार्थीलाई रोबोटिक्स, प्रोग्रामिङ, एआई, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी गराइनेछ । यसबाट आलोचनात्मक सोच, नेतृत्व क्षमता, समूहमा काम गर्ने संस्कार र नवप्रवर्तनमुखी सोचको विकास हुने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रयोगात्मक प्रदर्शनमार्फत एरो मोडल विमानदेखि रकेटसम्मको सफल उडान गराएर रोबोटिक्स प्रविधिको प्रयोगबारे जानकारीसमेत गराइएको थियो ।
विद्यालयले आगामी दिनमा प्रविधिमैत्री शिक्षालाई थप विस्तार गर्दै विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


















