११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु



विराटनगर-सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबिच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले दक्षिणी सुनसरीका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रहरीको गोली लागेर देवानगञ्ज-३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । घटनामा गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस, सभा तथा कुनै पनि प्रकारका गतिविधिमा पूर्ण रोक लगाइएको छ ।

जिल्ला प्रशासनले कर्फ्युको सीमा पनि तोकेको छ । हरिनगरा बजार क्षेत्रमा नूनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजार क्षेत्रमा मोरिया धार खोलादेखि हरिनगर गाउँपालिका कार्यालयसम्म, कप्तानगञ्ज बजार क्षेत्रमा यादव टोलदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म, घुस्की बजार क्षेत्रमा कासमिया मदरसादेखि हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजार क्षेत्रमा मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्म कर्फ्यु लागू गरिएको छ ।

प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभर निषेधाज्ञासमेत जारी गरेको छ ।

प्रहरीका अनुसार आइतबारराति साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको युवाको समूहलाई अर्को पक्षले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै रोक्न खोजेपछि विवाद सुरु भएको थियो ।

सामान्य भनाभन चाँडै झडपमा परिणत भई हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ । घटनापछि राति करिब १२ बजे जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो ।

त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरेले मध्यरातमै कर्फ्यु आदेश जारी गर्ने निर्णय गर्दै सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी आदेश जारी गरेका हुन् ।

सोमबार बिहान कप्तानगञ्जसहित कर्फ्यु प्रभावित क्षेत्रको अवस्था नियन्त्रणमा रहेको जनाइएको छ । सम्भावित थप तनाव र अप्रिय घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको बाक्लो परिचालन गरिएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार ००:००  ७ : ३५ बजे