१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी



बिर्तामोड– झापाको पाँचतारे होटल मेची क्राउनमा महत्वपूर्ण स्वामित्व परिवर्तन भएको छ । होटलमा ११ प्रतिशत शेयर रहेको क्षमादेवी ग्रुपले आफ्नो सम्पूर्ण लगानी फिर्ता लिएपछि सञ्चालक बलराम सापकोटा ५१ प्रतिशत शेयरसहित बहुमत शेयरधनी बनेका छन् ।

होटल सञ्चालन सुरु भएको करिब छ वर्षपछि भएको यो शेयर कारोबारसँगै मेची क्राउनको स्वामित्व संरचनामा ठूलो परिवर्तन आएको हो ।

क्षमादेवी ग्रुपको सबै शेयर सापकोटाले नै खरिद गरेका हुन् । उनले बाह्य लगानीकर्तालाई शेयर बेच्नुभन्दा कम्पनीभित्रै राख्ने सहमतिअनुसार आफूले शेयर लिएको बताए । यद्यपि, कारोबार रकम भने सार्वजनिक गरिएको छैन ।

यसअघि विभिन्न साझेदारबीच बाँडिएको स्वामित्व अब सापकोटाको नियन्त्रणमा पुगेको छ। होटलमा सापकोटासँगै पवित्रकुमार कार्की र मेरिगोल्ड ज्वेलर्स समूहको पनि लगानी कायम छ ।

२०७७ असोजमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको मेची क्राउनले विस्तारका क्रममा थप ६० करोड रुपैयाँ लगानी गर्दै १०० कोठा थपेको थियो। हाल होटलमा २०५ कोठा सञ्चालनमा छन् ।

भारतको बागडोरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ किलोमिटर दूरीमा रहेको होटल भारतीय, बंगलादेशी र भुटानी पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको छ ।

विशेषगरी विवाह (वेडिङ डेस्टिनेसन) र क्यासिनो पर्यटनका कारण होटलको व्यापार उल्लेखनीय रहेको बताइन्छ । होटल परिसरमा नेपालकै ठूलोमध्ये एक मानिने ‘भेगास’ क्यासिनो सञ्चालनमा छ ।

साथै पाँच सुइट, १० भिल्ला, क्लब तथा डिलक्स रुम, दुई रेस्टुरेन्ट, ब्यांक्वेट हल, हेलिप्याड, स्विमिङ पुल, स्पा, जिम, टेनिस कोर्टलगायतका सुविधा उपलब्ध छन् ।

स्वामित्वमा भएको यो परिवर्तनले मेची क्राउनको आगामी व्यवस्थापन, लगानी विस्तार र व्यावसायिक रणनीतिमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार ००:००  ३ : ३७ बजे