झापा– मेचीनगर नगरपालिका-१५ कालिका स्थित भित्री सडकमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब १०ः४५ बजे काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१-००२ झ ७३६० नम्बरको स्कार्पियो ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर-१५ निवासी करिब ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा बिहान ११ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कार्पियो चालक गाडीसहित फरार भएका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले खोजतलासका क्रममा बिहान ११ः५० बजे मेचीनगर-४ बाहुनडाँगीबाट स्कार्पियोसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्ने चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लिला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सिटी सफारी चालक मेचीनगर-६ निवासी ४५ वर्षीय गम्भीर प्रसाद बातरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरी चौकी ज्यामीरगढीको नियन्त्रणमा राखिएको छ । प्रहरीले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।


















