५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार पक्राउ



गौर– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ र भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि ४४८ फरार प्रतिवादी पक्राउ गरी ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिएको र ६९ लाख ७१ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार एक वर्षमा १ हजार १५२ मुद्दा दर्ता भएकामध्ये ६८० फर्छ्योट भएका छन । लागुऔषधसम्बन्धी ३९ मुद्दामा ५१ जना पक्राउ परेका छन् भने ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, नशालु एम्पुल र ट्याब्लेट बरामद गरिएको छ ।

भन्सार छली नियन्त्रण अभियानमा १८ जना पक्राउ परेका छन् भने ५ करोड ९२ लाख ५५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी रहेको एसपी रिजालले बताए ।

यस्तै, ट्राफिकतर्फ १ हजार ८८ वटा दुर्घटनामा ५३ जनाको मृत्यु र १ हजार ६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गर्दा १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार ००:००  ११ : ४१ बजे