बिर्तामोड-नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा शिवाकोटीले १८-३५ वर्ष उमेर समूहका युवा र महिलालाई पार्टीभित्र अवसर दिने केन्द्रीय समितिको निर्णय ऐतिहासिक भएको बताएकी छन् ।
नेपाल महिला संघ झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको अन्तरक्रियामा उनले महिलाले नेतृत्वका लागि आत्मविश्वास बढाई सक्रिय रूपमा अघि बढ्नुपर्ने बताइन् । पार्टीमा अवसर निरन्तर संघर्ष, सक्रियता र जनताको विश्वासबाट प्राप्त हुने भन्दै उनले जनमुखी काममा केन्द्रित हुन आग्रह गरिन् ।
कार्यक्रममा कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापामा महिलाको सक्रिय सहभागिता सन्तोषजनक रहेको उल्लेख गर्दै पार्टीले अवसर वितरणमा लैंगिक विभेद नगरेको बताए । महिला संघका नेताहरूले पनि संगठनको निर्वाचनबारे छिट्टै निर्णय हुने जनाउँदै पार्टीको नयाँ नीति र सन्देश गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए ।


















