काठमाडौं– संस्थापन र इतर पक्षबीच संवादहीनता बढ्दै जाँदा नेपाली कांग्रेसभित्र एकताको सम्भावना कमजोर बनेको छ । ६ साउनमा वीपी स्मृति दिवससमेत छुट्टै मनाउने निर्णय गरेको इतर पक्षले पार्टीभित्र मेलमिलापको सम्भावना करिब समाप्त भएको निष्कर्ष निकालेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा शुक्रबार बसेको १४ औँ महाधिवेशनबाट निर्वाचित इतर पक्षका केन्द्रीय सदस्य, पदाधिकारी र पूर्वपदाधिकारीको विस्तारित बैठकमा नेताहरूले पार्टी एकताको आशा लगभग सकिएको धारणा राखेका थिए ।
इतर पक्षका नेता मीन विश्वकर्माले संस्थापन पक्षले संवाद र सहमतिका लागि कुनै ठोस पहल नगरेको आरोप लगाउँदै अब कुनै असाधारण परिस्थिति नआएसम्म पार्टीभित्र मेलमिलाप हुने सम्भावना नरहेको बताए ।


















