डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका-७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जिप बिहान करिब ३ बजे सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना पाएलगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार गरेको थियो ।
घाइते पाँचै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । मृतक र घाइतेहरूको पहिचान गर्ने तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















