मोरङ– मोरङमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाही पछिल्ला पाँच वर्षकै न्यून बिन्दुमा झरेको छ । त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा पनि देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक कारबाहीबाट १ करोड ८५ लाख ८६ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ, जुन अघिल्ला चार आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा कम हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार गत आर्थिक वर्षभर १९ हजार ४ सय ३३ वटा सवारीसाधनमाथि मात्र कारबाही गरिएको छ । अघिल्ला वर्षहरूमा भने वार्षिक ४४ हजारदेखि ७१ हजार सम्म सवारी कारबाहीमा पर्ने गरेका थिए ।
राजस्व संकलनको तथ्यांकले पनि निरन्तर ओरालो यात्रालाई देखाउँछ । आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ३३ लाख, २०८०/०८१ मा ३ करोड ९३ लाख, २०७९/०८० मा ४ करोड ८७ लाख र २०७८/०७९ मा ४ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसको तुलनामा गत वर्षको संकलन आधाभन्दा पनि कम हो ।
प्रहरी निरीक्षक न्यौपानेले कारबाही घट्नुको कारण ट्राफिक सचेतना र लक्षित निगरानीलाई मानेका छन् । कार्यालयका अनुसार विराटनगरमा सञ्चालन हुने सिटी सफारीमाथिको कारबाही पनि उल्लेख्य रूपमा घटेको छ ।
गत आर्थिक वर्ष १ हजार ६ सय ५१ वटा सिटी सफारी कारबाहीमा परेका छन्, जबकि अघिल्लो वर्ष यो संख्या ३ हजार १ सय ७१ रहेको थियो ।
दुईपांग्रे सवारीमा पनि उस्तै प्रवृत्ति देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा ५ हजार ९ सय ४ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। अघिल्लो वर्ष भने ११ हजार १ सय १६ वटा मोटरसाइकलमाथि कारबाही गरिएको थियो ।


















