१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली



काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिकरूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गरेका छन् । प्रदेश सरकारहरूबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको सन्दर्भमा उनले एमाले आफ्नै बलमा उभिन सक्ने पार्टी भएको बताएका छन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा शुक्रबार बोल्दै ओलीले एमाले कुनै दलको सहारामा टिक्ने शक्ति नभई आफ्नै आधारमा अघि बढेको राजनीतिक शक्ति भएको बताए ।

‘हामीलाई एक्ल्याउने प्रयास भइरहेका छन् । हामी अर्कालाई समातेर मात्र उठ्न सक्ने लहरो होइनौँ। हामी स्वतन्त्र वृक्ष हौँ । अनेक आँधीहुरी र तुफानको सामना गरेका छौँ । अर्को कसैलाई नसमाती उठ्नै नसक्ने त्यान्द्रो पनि होइनौँ,’ उनले भने ।

ओलीले एमालेले स्थापनाकालदेखि नै विभिन्न राजनीतिक उतारचढाव, संघर्ष र चुनौती पार गर्दै आफ्नो अस्तित्व कायम राखेको उल्लेख गर्दै वर्तमान राजनीतिक समीकरणले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरे ।

उनले एमाले जनताको बल, संगठनको शक्ति र आफ्नै राजनीतिक धरातलका आधारमा अघि बढ्ने पार्टी भएकाले कुनै पनि राजनीतिक परिस्थितिको सामना गर्न सक्षम रहेको बताए ।

नेपाली कांग्रेसले सातै प्रदेश सरकारबाट एमालेसँगको सहकार्य अन्त्य गर्दै आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि ओलीको यो अभिव्यक्ति आएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार ००:००  ४ : ५४ बजे