१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

यलम्बर साप्ताहिकद्वारा ‘खुवालुङ’ विशेषाङ्क प्रकाशित



बिर्तामोड-यलम्बर साप्ताहिकले ‘खुवालुङ’ विशेषाङ्क प्रकाशित गरेको छ । म्यागजिनको स्वरूपमा प्रकाशित उक्त विशेषाङ्क शुक्रबार झापाको बिर्तामोडमा आयोजित समारोहबिच विमोचन गरिएको छ ।

विशेषाङ्कको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्री इन्द्र आङ्बो, अर्जुनधारा नगरपालिकाका पूर्वप्रमुख हरिकुमार राना, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय परिषद्का उपाध्यक्ष अर्जुन जमनेली राईलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन ।

यलम्बर साप्ताहिकको १९औँ वार्षिकोत्सवको अवसर पारेर ‘खुवालुङ’ विशेषाङ्क प्रकाशित गरिएको सम्पादक दिपिन राईले जानकारी दिए । यसअघि यलम्बरले ‘मुक्कुमलुङ’ विशेषाङ्क पनि प्रकाशन गरिसकेको थियो ।

इतिहास, संस्कृति र पहिचानसँग सम्बन्धित विषयलाई उजागर गर्ने उद्देश्यले ‘खुवालुङ’ विशेषाङ्क प्रकाशित गरिएको सम्पादक राईले बताए । उनका अनुसार किराँत समुदायको पवित्र आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत महत्वलाई विशेषाङ्कमा समेटिएको छ ।

कार्यक्रममा विशेषाङ्कमाथि लेखक कुमार भट्टराईले समीक्षा प्रस्तुत गरेका थिए । समाचार प्रमुख लीला राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन । सह सम्पादक राजन साम्पाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा लेखक तथा साहित्यकार देशु वनेमलगायतले विशेषाङ्कको महत्व र यस्ता प्रकाशनले इतिहास, संस्कृति तथा पहिचान संरक्षणमा पुर्‍याउने योगदानबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार ००:००  ४ : ३७ बजे