१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो



झापा– वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या लामो समयपछि घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार आव २०८२/८३ मा कुल ७ लाख ९२ हजार १ सय ७३ नेपालीले श्रम स्वीकृति लिएर एक सयभन्दा बढी मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९ हजार २ सय ६६ जनाको तुलनामा ४७ हजार ९३ ले कम हो ।

पछिल्ला वर्षमा निरन्तर बढ्दै आएको वैदेशिक रोजगारीमा जाने प्रवृत्तिबीच पहिलोपटक देखिएको यो गिरावटलाई विभागले महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरेको छ ।

विभागका अधिकारीहरूका अनुसार श्रम बजारको बदलिँदो अवस्था, गन्तव्य मुलुकका नीति तथा आन्तरिक रोजगारीका केही अवसर विस्तारलगायत कारणले विदेशिने संख्या घटेको हुनसक्ने प्रारम्भिक विश्लेषण गरिएको छ ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै ६९ हजार ३ सय ६२ नेपालीले श्रम स्वीकृति लिएर एक सय मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन् ।

विदेशिने श्रमिकको संख्या घटे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीले औपचारिक बैंकिङ प्रणालीमार्फत स्वदेश पठाउने रेमिट्यान्स भने बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार ००:००  ४ : ५१ बजे