झापा-सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सबै काम हालका लागि स्थगित गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले अर्को आदेश नभएसम्म कसैसँग पनि सम्पत्ति विवरण माग्न वा प्राप्त विवरणमाथि कुनै प्रकारको छानबिन नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगले आफ्नो सम्पूर्ण प्रक्रिया रोकेको हो ।
यसअघि आयोगले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्चको अघिल्लो आदेशअनुसार न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी, नेपाली सेनाका पूर्व पदाधिकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन जारी रहेको जनाएको थियो ।
सर्वोच्चको पछिल्लो आदेशसँगै आयोगको सम्पत्ति विवरण संकलन र छानबिन प्रक्रिया अर्को आदेश नआएसम्मका लागि रोकिएको छ ।


















