३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

स्मार्ट विद्यालय अभियानमा शिवसताक्षीको लगानी : विद्यालयलाई ई–भ्यान, अन्यमा प्रविधि सामग्री



स्मार्ट विद्यालय अभियानमा शिवसताक्षीको लगानी : एक विद्यालयलाई ई–भ्यान, अन्यमा प्रविधि सामग्री

शिवसताक्षी (झापा)-सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र विद्यार्थीमैत्री बनाउने अभियानअन्तर्गत शिवसताक्षी नगरपालिकाले एक विद्यालयलाई २३ लाख ५० हजार रुपैयाँको विद्युतीय (ई–भ्यान) उपलब्ध गराएको छ भने अन्य चार विद्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर र स्मार्ट टिभी हस्तान्तरण गरेको छ।

नगरपालिकाले वडा नम्बर ५ स्थित सुर्योदय आधारभूत विद्यालयलाई विद्यार्थी ओसारपसारका लागि ई–भ्यान उपलब्ध गराएको हो। नगरपालिकाको ‘स्मार्ट विद्यालय’ कार्यक्रमअन्तर्गत खरिद गरिएको भ्यानको साँचो नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेले विद्यालयकी प्रधानाध्यापक सुभद्रा दुलाल कोइराला र पूर्वप्रधानाध्यापक जगतविर लिम्बुलाई संयुक्त रूपमा हस्तान्तरण गरे।

नगर शिक्षा शाखाका प्रमुख छवि ढकालका अनुसार ई–भ्यान खरिदमा नगरपालिकाले १० लाख, वडा नम्बर ५ कार्यालयले १० लाख र विद्यालयले ३ लाख ५० हजार रुपैयाँ लागत साझेदारी गरेका छन्। विद्यालयसम्म टाढाबाट आउने विद्यार्थीको नियमित उपस्थितिलाई सहज बनाउन भ्यान उपलब्ध गराइएको उनले बताए।

सोही कार्यक्रममा नगरपालिकाले श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई पाँच थान डेस्कटप कम्प्युटर, भानु माध्यमिक विद्यालयलाई एक ल्यापटप, तीन डेस्कटप कम्प्युटर र एक प्रिन्टर, बालनिकुञ्ज माध्यमिक विद्यालयलाई एक ल्यापटप, तीन डेस्कटप कम्प्युटर र एक स्मार्ट टिभी तथा **भगवती माध्यमिक विद्यालय (व्याङ्गडाँडा)**लाई एक स्मार्ट टिभी हस्तान्तरण गरेको छ।

नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन नगरपालिकाले निरन्तर लगानी गरिरहेको बताए। ‘स्मार्ट विद्यालय’ अवधारणाले छोटो समयमै सकारात्मक परिणाम दिन थालेको उल्लेख गर्दै उनले प्रविधिको पहुँचसँगै शिक्षण–सिकाइ थप प्रभावकारी बन्दै गएको बताए। शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र वडा कार्यालयबीचको सहकार्य अझ बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

सुर्योदय आधारभूत विद्यालयकी प्रधानाध्यापक कोइरालाले ई–भ्यानले विशेषगरी टाढाबाट आउने विद्यार्थीको नियमित उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज सेर्माले नगरपालिकाबाट प्राप्त नयाँ कम्प्युटरपछि विद्यालयमा सञ्चालनयोग्य कम्प्युटरको संख्या १३ पुगेको बताए। यसले कम्प्युटर शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउने उनको भनाइ थियो।

नगर शिक्षा शाखाका प्रमुख ढकालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ‘स्मार्ट विद्यालय निर्माण’ कार्यक्रमअन्तर्गत प्रविधि विस्तारका लागि ५९ लाख ७ हजार रुपैयाँ खर्च गरिएको छ। बाँकी सामग्री नगरमा आइपुगेपछि अन्य विद्यालयलाई पनि क्रमशः वितरण गरिने उनले जानकारी दिए।

उनका अनुसार यही कार्यक्रममार्फत बालसेवा, भगवती, बालनिकुञ्ज, लालपानी, लक्ष्मीनारायण र झिलझिले माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माणसमेत सम्पन्न भइसकेको छ। आगामी वर्षहरूमा प्रविधिसँगै विद्यालयको भौतिक र शैक्षिक पूर्वाधार विकासलाई थप गति दिने नगरपालिकाको योजना छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार ००:००  ७ : ३२ बजे