झापा– सरकारी कार्यशैलीमाथि पार्टी तहमा आन्तरिक आलोचना र टिप्पणी तीव्र भएपछि संसद बैठक दुई साताका लागि स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले साउन १३ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका हुन् ।
सरकारी काम कारबाहीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकारको आलोचना तीव्र भइरहँदा दुई साताका लागि संसद् बैठक स्थगित भएको हो । सत्तारुढ दलका सांसदले समेत सरकारको आलोचना गरिरहेका छन् ।
प्रधानमन्त्रीले सीमा समस्याका विषयमा संसदमा दिएको अभिव्यक्ति, श्रृङ्खलाबद्धरूपमा भइरहेका आत्मदाहका घटना लगायतका विषयलाई लिएर प्रतिपक्षी दल सरकारविरुद्ध उत्रिरहेका छन् । विपक्षी दलकै सांसदको शैलीमा सत्तारुढ दलका सांसद समेत सरकारी कार्यशैलीको विरोधमा छन् ।
बालेन्द्र शाह नेतृत्वमा बनेको सरकारले सय दिन पूरा गरिसकेको छ । यो बिचमा सुकुम्बासी समस्या झन् गम्भीर र भयावह भएको छ । कैयौँ सुकुम्बासी बस्ती उठाइएका छन् । तिनलाई होल्डिङ सेन्टरमा लगेर राखिएको छ ।
सार्वजनिक सरोकारका संवेदनशील र गम्भीर सवालमा समेत सरकारको काम प्रभावकारी हुन नसकेकोप्रति सत्तारुढ दलकै सांसदको आलोचना र टिप्पणी छ । आन्तरिक आलोचना थपिँदै जाँदा आवश्यक तयारी र गृहकार्यका लागि सत्तारुढ दल संसद बैठक स्थगित गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।
संसद बैठक स्थगित गर्नुअघि सभामुख अरियालले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए । बैठकमा सहभागी सांसदहरुले संसदमा बिजनेसको कमी भएको भन्दै आफूहरू जिल्ला जान चाहेको बताएपछि बैठक स्थगित गर्न झन् सजिलो भएको हो ।


















