विराटनगर– देशभर यस वर्ष धान रोपाइँको गति सुस्त देखिए पनि कोशी प्रदेशमा भने गत वर्षको तुलनामा प्रगति भएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार कोशी यस वर्ष रोपाइँको प्रगति बढाउने एकमात्र प्रदेश बनेको छ ।
प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म १ लाख ५१ हजार ६ सय १९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यो कुल क्षेत्रफलको ५४.९ प्रतिशत हो ।
गतवर्ष असार २९ गतेसम्म कोशीमा ४१.३२ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । यसवर्ष सोही अवधिमा करिब १४ प्रतिशत बिन्दुले वृद्धि भएको कृषि विभागको तथ्यांकले देखाएको छ ।
देशभर भने असार अन्तिम सातासम्म ५४.५२ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टरमा रोपाइँ भएको विभागले जनाएको छ ।
गत वर्ष यही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि विभागका अनुसार मनसुन सक्रिय भएसँगै कोशीका अधिकांश जिल्लामा किसानले रोपाइँलाई तीव्रता दिएका छन् । पर्याप्त वर्षाका कारण यस वर्ष प्रदेशमा रोपाइँको अवस्था गत वर्षभन्दा सुधारिएको विभागको तथ्यांकले देखाएको छ ।


















