झापा– इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खड्कालाई बुधबार झापाको दमक नगरपालिका-१ स्थित एक खाजाघरबाट सेवाग्राहीसँग घुस रकम लिइरहेका बेला नियन्त्रणमा लिइएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उनले काममा दुःख र हैरानी दिएर ६ लाख रुपैयाँ घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित खड्कालाई रंगेहात पक्राउ गरेको हो । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


















