भद्रपुर– राष्ट्रिय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने झापाका खेलाडी र उनीहरूका प्रशिक्षकलाई झापा जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । सोही कार्यक्रममा समितिको अघिल्लो कार्यसमितिलाई सम्मानपूर्वक विदाइ गर्दै नवगठित कार्यसमितिलाई पूर्णता दिइएको जानकारी पनि सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित कार्यक्रममा करातेतर्फ स्वर्ण पदक विजेता प्रतिक्षा नेपाललाई १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरियो । एथलेटिक्सतर्फ रजत पदक विजेता सफल टंक यादव र गत १५ औँ राष्ट्रपति रनिङ शिल्डका रजत पदक विजेता सुजन मण्डललाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
त्यस्तै, तेक्वान्दोतर्फ कांस्य पदक विजेता रेशिका धिमाल र आयुषा बोहोरा, उसुतर्फ कांस्य पदक विजेता रासिम राई र आशिष तिरुवालाई जनही ७ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरियो । गत १५ औँ राष्ट्रपति रनिङ शिल्डमा करातेतर्फ कांस्य पदक जितेका आर्यन दाहाल पनि समान रकमसहित सम्मानित भए ।
चौथो राष्ट्रिय लेजर-रन प्रतियोगिता २०२६ मा सिनियरतर्फ प्रथम भएका दमकका सरोज सिंह र जुनियरतर्फ प्रथम भएका सनम आङ्देम्बेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
पदक विजेता खेलाडी उत्पादनमा योगदान पुर्याएका कराते प्रशिक्षक डम्बर सुनुवार, एथलेटिक्स प्रशिक्षक रामकुमार राजवंशी, तेक्वान्दो प्रशिक्षक चन्द्र गौतम र प्रतिमा तामाङ, तथा उसु प्रशिक्षक पूजा खवासलाई समेत सम्मान गरिएको थियो ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल प्रमुख अतिथि थिए ।
उनले झापालाई खेलकुदको हब बनाउने लक्ष्यसहित भद्रपुर नगरपालिकाले पूर्वाधारमा लगानी गरिरहेको उल्लेख गर्दै प्रदेश र संघीय सरकारको थप सहयोग आवश्यक रहेको बताए। उनले मेची रंगशालाको स्तरोन्नतिका लागि छुट्याइएको बजेटको केही अंश कटौती गरिएकोप्रति असन्तुष्टि पनि जनाए ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले आफ्नो कार्यकालमा झापाको खेलकुदलाई नयाँ उचाइमा पुर्याउने प्रयास भएको दाबी गर्दै जीर्ण अवस्थाको मेची रंगशालाको सुधार र चर्चित भद्रपुर झापा गोल्डकपको सुरुआत आफ्नो कार्यसमितिको उपलब्धि भएको बताए । नवगठित समितिले त्यसलाई अझ प्रभावकारीरूपमा अघि बढाउने विश्वास उनले व्यक्त गरे ।
सोही अवसरमा निवर्तमान अध्यक्ष भण्डारीसहित उपाध्यक्ष गंगा भुर्तेल कोइराला तथा सदस्यहरू जगन कार्की ‘दुर्वासा’, शमशेर मोक्तान, गंगा तुम्बापो, चेतामणि खनाल र पूर्णिमा सिटौलालाई दोसल्ला र सम्मानपत्रसहित विदाइ गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य बालाजीत राई, कोशी प्रदेशसभाका पूर्व सदस्य वसन्तकुमार वानियाँ, भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
यसैबीच, कोशी प्रदेश खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको कार्यसमितिलाई पूर्णता दिएको छ। समितिका अध्यक्ष र उपाध्यक्ष यसअघि नै नियुक्त भइसकेका थिए भने अब सदस्यमा प्रकाश शर्मा, कमला लिम्बू, विक्रम मेचे, राजेन्द्र लिम्बू, रोशन दाहाल, रेश्मा राजवंशी, सन्तप्रसाद चौलागाईं र इन्दु न्यौपाने नियुक्त भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।


















