बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले घरबहाल करको दर आधाले घटाएको छ । यसअघि भाडा रकमको १० प्रतिशतका दरले लिँदै आएको घरबहाल कर अब नयाँ आर्थिक वर्षदेखि ५ प्रतिशत मात्रै लाग्ने भएको छ । करको दर घटाएर करदाताको दायरा फराकिलो बनाउने उद्देश्यसहित नगरपालिकाले यो निर्णय गरेको हो ।
दोस्रो नगरसभाको नवौं अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा झार्ने निर्णय भएको जानकारी दिइन् । नगरसभाबाट निर्णय पारित भएसँगै नयाँ आर्थिक वर्षदेखि संशोधित दर लागू हुनेछ ।
बिर्तामोड नगरपालिकाले हालसम्म घरबहाल करबाट वार्षिक करिब साढे चार करोड रुपैयाँ राजस्व उठाउँदै आएको छ । तर, वास्तविक बहाल कारोबारको ठूलो हिस्सा करको दायराबाहिर रहँदा नगरपालिकाले उल्लेख्य राजस्व गुमाउँदै आएको स्वीकार गरेको छ ।
नगरपालिकाका अनुसार धेरै घरधनीले घर बहालमा लगाए पनि करको दायित्व भाडामा बस्ने व्यवसायी वा प्रयोगकर्तामाथि सार्ने गरेका छन् । कतिपयले वास्तविकभन्दा कम भाडा उल्लेख गरेर सम्झौता गर्ने र त्यही आधारमा न्यून कर बुझाउने प्रवृत्तिका कारण राजस्व संकलन प्रभावित हुँदै आएको छ ।
यही अवस्थालाई सुधार गर्न करको दर घटाएर सबै घरधनीलाई स्वेच्छाले कर तिर्न प्रोत्साहित गर्ने रणनीति नगरपालिकाले अघि सारेको हो । नगरप्रमुख प्रसाईंले सहुलियतपूर्ण व्यवस्था गरेपछि कर छल्ने प्रवृत्ति घट्ने र करको दायरा विस्तार हुने विश्वास व्यक्त गरिन् ।
नगरसभाले यसअघि लागू गरिएको ५० प्रतिशत छुटको व्यवस्थालाई नै स्थायी स्वरूप दिँदै अब घरभाडाको १० प्रतिशतको सट्टा ५ प्रतिशत मात्रै घरबहाल कर तिर्ने व्यवस्था गरेको हो ।


















