बिर्तामोड– तेस्रो संस्करणको झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने भएको छ ।
आयोजक अमृत स्टोरले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ग्र्याण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
युवा संगीत प्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कोशी प्रदेशस्तरीय खुला ब्यान्ड प्रतियोगिता आयोजना गरिएको छ ।
झापा रक स्टारले पूर्वी नेपालका उदाउँदा ब्यान्ड तथा संगीतकर्मीलाई व्यवस्थित मञ्च उपलब्ध गराउँदै आएको छ ।
डिजिटल अडिसनमार्फत सहभागी १२ ब्यान्डमध्ये उत्कृष्ट सात ब्यान्ड फिजिकल अडिसनमा पुगेका थिए । त्यसबाट उत्कृष्ट पाँच ब्यान्ड ग्र्याण्ड फिनालेका लागि छनोट भएका छन । यी पाँचै ब्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगितामा प्रथम हुने ब्यान्डले ५० हजार रुपैयाँ, द्वितीय हुने ब्यान्डले ३० हजार रुपैयाँ र तृतीय हुने ब्यान्डले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


















