झापा– झापाको अर्जुनधारामा करिब २ करोड रुपैयाँको लगानीमा स्थापना भएको ‘इकोसाइन कमर्सियल एन्ड स्यानिटाइजेसन सर्भिस’ले पूर्वका चार जिल्ला झापा, मोरङ, सुनसरी र इलामलाई लक्षित गर्दै व्यावसायिक लन्ड्री तथा स्यानिटाइजेसन सेवा सञ्चालनमा ल्याएको छ ।
स्थानीय युवाको संयुक्त लगानीमा स्थापना भएको उद्योगले होटल, अस्पताल, बैंक, विद्यालयलगायत संस्थाले प्रयोग गर्ने कपडाको अत्याधुनिक प्रविधिबाट धुलाई, सुकाइ र किटाणुमुक्त गर्ने सेवा दिने जनाएको छ ।
कम्पनीले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रियस्तरका मेसिन र स्यानिटाइजेसन प्रविधिको प्रयोगबाट कपडामा रहेका स्वास्थ्यका लागि हानिकारक जीवाणु नष्ट गरी सुरक्षित सेवा उपलब्ध गराइने जानकारी दिएको हो ।
सञ्चालक सोभित प्रसाईका अनुसार उद्योग स्थापनामा करिब २ करोड रुपैयाँ लगानी गरिएको छ । सञ्चालक गोविन्द श्रेष्ठले कपडाबाट सर्न सक्ने संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कपडाको गुणस्तर कायम राखेर सुरक्षितरूपमा किटाणुमुक्त गर्ने प्रविधि प्रयोग गरिने बताए ।
कम्पनीले व्यावसायिक प्रतिष्ठानसँग सेवा सम्झौता सुरु गरिसकेको र २४ घण्टाभित्र सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।
सञ्चालक नवीन ढुंगानाका अनुसार पहिलो चरणमा झापा, मोरङ, सुनसरी र इलामका होटल, अस्पताल, बैंक, विद्यालय तथा अन्य संस्थालाई सेवा प्रदान गरिनेछ । त्यसपछि घरायसी प्रयोजनका कपडाको धुलाई र सुकाइ सेवा पनि विस्तार गरिने योजना छ ।
दुई सिफ्टमा सञ्चालन हुने उद्योगमा हाल १६ जना कर्मचारी कार्यरत छन् भने कम्तीमा २० जनालाई रोजगारी दिने लक्ष्य रहेको सञ्चालक उज्ज्वल उप्रेतीले बताए ।
कम्पनीका अनुसार कम लागतमा प्रविधियुक्त सेवा उपलब्ध गराउँदै कपडाबाट सर्न सक्ने संक्रामक रोगको जोखिम न्यूनीकरण र पूर्वी नेपालमा व्यावसायिक लन्ड्री सेवाको विस्तार गर्ने लक्ष्य राखिएको छ ।


















