झापा-लागुऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकमाथि झापा प्रहरीले निगरानी कडा बनाएको छ । विशेष ट्राफिक चेकजाँचका क्रममा बिर्तामोडबाट ५ जना चालक तथा सहचालक पक्राउ परेका छन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार बिर्तामोड–६ मा मंगलबार सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँच अभियानमा २०९ सवारी साधनका चालकको परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा ५ जना चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि भएको छ। उनीहरूमध्ये एकजनाले मादक पदार्थसमेत सेवन गरेको भेटिएको डीएसपी अवाले बताए ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको उनले जानकारी दिए ।
लागुऔषध र मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले नियमित रूपमा विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।
डीएसपी अवाका अनुसार गत सातामात्र पनि झापाका विभिन्न स्थानबाट मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाइरहेका ७ जना चालक पक्राउ परेका थिए । प्रहरीले यस्ता अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।


















