काठमाडौं- नेपाल आयल निगममा कर्मचारीलाई अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले ओभरटाइम भत्ताको व्यवस्था हटाएर सिफ्ट प्रणाली लागू गर्ने तयारी थालेको हो ।
निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत सेवा–सुविधा शीर्षकमा रहेको अतिरिक्त कार्य भत्ताको व्यवस्थालाई पुनर्संरचना गर्दै कर्मचारीलाई कार्य प्रकृति अनुसार सिफ्टमा परिचालन गर्ने गृहकार्य अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
निगममा ओभरटाइम भत्ताका नाममा गत आर्थिक वर्ष मात्रै करिब १३ करोड रुपैयाँ खर्च भएको थियो । मन्त्री यादवले ओभरटाइमको नाममा भइरहेको ठूलो आर्थिक व्ययले संस्थामा अनावश्यक वित्तीय भार परेको र अनियमितताको सम्भावना समेत बढाएको निष्कर्ष निकाल्दै उक्त सुविधा कटौती गर्ने निर्णय गरेकी हुन् ।
नयाँ व्यवस्था लागू भएपछि अतिरिक्त समय काम गरेबापत छुट्टै भत्ता दिने प्रचलन अन्त्य हुने र त्यसको सट्टा कर्मचारीलाई आवश्यकता र कार्यप्रकृतिअनुसार विभिन्न सिफ्टमा खटाइनेछ ।
मन्त्रालयका अनुसार यस व्यवस्थाबाट निगमको प्रशासनिक खर्च उल्लेखनीय रूपमा घट्ने, वित्तीय अनुशासन सुदृढ हुने तथा संस्थाको खर्च व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।


















