जनकपुरधाम– बजेट संशोधनको माग गर्दै विपक्षी दलहरूले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (नेपाल) र जनमत पार्टीका सांसदले बैठक चल्न नदिएपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका योजनाको नाममा टुक्रे बजेट ल्याएको आरोप लगाए । उनले यस्तो बजेटले विकासभन्दा संघीय व्यवस्थाप्रति नै जनतामा वितृष्णा बढाउने दाबी गर्दै बजेट संशोधन नभएसम्म विपक्षी दलले सदन सञ्चालन हुन नदिने बताए ।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले बजेटमा देखिएका विवादास्पद विषयको संशोधन वा छानबिन समिति गठन नगरेसम्म सदन सञ्चालन गर्न नदिने अडान दोहोर्याए ।
विपक्षी सांसदहरूको अवरोधपछि सभामुख रामअशिष यादवले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।


















