११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड



शनिश्चरे– झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८९ करोड ८५ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न नगरपालिकाको १९ औँ नगरसभामा उपप्रमुख खड्गमाया पराजुलीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

नगरपालिकाले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ ।

प्रस्तुत बजेटअनुसार कृषि तथा पशुपन्छी विकासतर्फ १ करोड ११ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ५ करोड २५ लाख रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ४४ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ १ करोड २९ लाख रुपैयाँ तथा पूर्वाधार विकासतर्फ १० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा स्थानीय कृषि उत्पादन प्रवर्द्धन, रैथाने बाली संरक्षण, भूमिहीन तथा सुकुम्बासी व्यवस्थापन, डिजिटल सुशासन, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

ज्येष्ठ नागरिकमैत्री कार्यक्रम, महिला, बालबालिका तथा विपन्न समुदायको सशक्तीकरणका कार्यक्रमसमेत समावेश गरिएका छन्।नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्रे, पशु अस्पताल निर्माण, डिजिटल नगर प्रोफाइल निर्माण, खेलकुद पूर्वाधार विकास तथा कृषि र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

सभामा आगामी वर्षका प्रमुख चुनौतीका रूपमा सीमित स्रोत-साधन, राजस्व संकलनमा देखिएका समस्या, अव्यवस्थित बसोबास, वातावरणीय जोखिम तथा पूर्वाधार निर्माणमा रहेका अवरोधलाई औंल्याइएको थियो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार ००:००  ९ : ०१ बजे