८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु



झापा- गौरीगञ्जमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-४ बाइसेटोल निवासी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ साढे ६ बजेतिर आफ्नै घरको कुखुराको खोरको ढोका लगाउने क्रममा शेर्मालाई सर्पले टोकेको थियो । खोर छेउमा रहेको इँटाको चाङबाट निस्किएको विषालु सर्पले उनको दाहिने हातको माझी औँलामा डसेको प्रहरीले जनाएको छ ।

सर्पको टोकाइबाट घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वर्षायाम सुरु भएसँगै तराईका जिल्लाहरूमा सर्पको बिगबिगी बढ्ने भन्दै चिकित्सकहरूले सचेत रहन र घरवरपर सरसफाइमा ध्यान दिन सुझाव दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ००:००  १ : ०८ बजे