जनकपुरधाम- मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजार ९८९ सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाको मृत्यु भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार दुर्घटनामा १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना धनुषामा भएका छन् । त्यहाँ पाँच वर्षमा ४ हजार ८६८ दुर्घटनामा ४२८ जनाको मृत्यु भएको छ । दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा छ, जहाँ ४ हजार ४६८ दुर्घटनामा ४१६ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा कम दुर्घटना पर्सामा भएको देखिएको छ । पर्सामा २ हजार ३५ दुर्घटनामा २०८ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले प्रदेशमा जनसंख्या, सवारीसाधन र सडक सञ्जाल बढी भएकाले दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बनेको बताए । उनले ट्राफिक सचेतना, प्रभावकारी व्यवस्थापन र पर्याप्त बजेटमार्फत दुर्घटना नियन्त्रण गर्न सकिने धारणा राखे ।

















