१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

१५ वटै पालिकामा राप्रपाको ज्ञापनपत्र : जनजीविकाका मुद्दामा ध्यानाकर्षण



बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले जिल्लाका १५ वटै स्थानीय तहमा एकै दिन ज्ञापनपत्र बुझाएको छ । जनसरोकारका मुद्दा समेटेर राप्रापाले ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा झापाका प्रवक्ता सूर्यकुमार खतिवडाका अनुसार किसानका लागि मल–बिउ अभाव, स्वास्थ्य बिमा समस्या, मूल्यवृद्धि, भूमिहीन तथा सुकुम्बासी समस्या, खानेपानी, शिक्षा र विकास निर्माणलगायत जनजीविकासँग सम्बन्धित विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।

पालिकामा बुझाइएको ज्ञापनपत्रमा कृषि सामग्रीको सहज आपूर्ति, न्यूनतम समर्थन मूल्य सुनिश्चित, स्वास्थ्य बिमा प्रणाली प्रभावकारी बनाउने, कर पुनरावलोकन गर्ने र बेरुजु नियन्त्रण गर्न माग गरिएको छ ।

अर्जुनधारा नगर समितिका अध्यक्ष हर्कजङ्ग थुङ्गिमले पार्टीका तर्फबाट उठाइएका विषय जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले स्थानीय तहले सम्बोधन गर्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार ००:००  ९ : १२ बजे