६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

टाउकोमा दाउ हानेर श्रीमतीको हत्या



झापा– हल्दीबारी गाउँपालिका-५ स्थित धनुषपोखरी नजिक गएराति श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय गोकर्ण भनिने गणेश भण्डारी रहेका छन् । उनले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार भण्डारी दम्पतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । राति करिब ९ बजे मादक पदार्थ सेवन गरेर घर फर्किएका गोकर्ण र उर्मिलाबीच भनाभन भएको थियो । विवाद चर्किँदा आवेशमा आएर उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ ।

घटनापछि गोकर्ण आफैं छिमेकीको घरमा पुगेर श्रीमतीको हत्या गरेको बताएका थिए । त्यसलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।

उर्मिला गोकर्णकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीसँग सम्बन्ध विच्छेदपछि उनले उर्मिलासँग दोस्रो विवाह गरेका थिए । मृतकका एक छोरा र एक छोरी छन् ।

प्रहरीले पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार ००:००  ७ : ४५ बजे