केन्द्रीय कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ
झापा-केन्द्रीय कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ बाट ४४ वर्षीय जीवनबहादुर पुर्कोटी पक्राउ परेका हुन् ।
पुर्कोटी कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय फैसला भई केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनी २०८२ भदौ २४ गते जेनेजी आन्दोलनका क्रममा फरार भएका थिए ।
ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि पुर्कोटीलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल बुझाइएको प्रहरीले जनाएको छ ।
















