झापा-दुधे भेट्रान क्लबको आयोजनामा कर्णबहादुर नेम्बाङ स्मृति ‘चौथो भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने भएको छ। प्रतियोगिता जेठ ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
शिवसताक्षी-११ स्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगितालाई यसअघि भन्दा फरक ढंगले आयोजना गर्न लागिएको छ । उक्त रंगशालामा यसअघि झापा महिला गोल्डकप समेत सफलतापूर्वक आयोजना भइसकेको छ ।
पछिल्ला वर्षमा दुधे रंगशालाले राष्ट्रियस्तरका खेल गतिविधिका कारण छुट्टै पहिचान बनाउँदै गएको स्थानीय खेलाडी बताउँछन् ।
क्लबका अध्यक्ष सन्तोष नेम्बाङका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १६ वटा भेट्रान फुटबल क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडी, अनुभवी फुटबलर तथा चर्चित भेट्रान खेलाडीको सहभागिता रहने आयोजकको दाबी छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न व्यक्तिगत विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ प्रदान गरिनेछ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘सर्वोत्कृष्ट खेलाडी’ घोषणा गरिनेछ । यसैगरी ‘बेस्ट गोलकिपर’, ‘हाई स्कोरर’, ‘बेस्ट फरवार्ड’, ‘बेस्ट डिफेन्डर’ र ‘बेस्ट कोच’लाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
क्लबका सचिव विनोद खरेलले प्रतियोगिताले पुराना खेलाडीलाई पुनः मैदानमा फर्काउँदै नयाँ पुस्तालाई खेलप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे । खेलकुदले समाजलाई सकारात्मक दिशामा लैजाने भएकाले यस्ता प्रतियोगिताले खेल संस्कृतिको विकाससँगै आपसी सद्भाव र एकतालाई मजबुत बनाउने उनले बताए ।
















