२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

महिला उद्यमीलाई डिजिटल र एआई सीप



झापा– राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा झापामा महिला उद्यमी लक्षित डिजिटल मार्केटिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

फेडरेशन अफ कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) झापाको आयोजनामा भएको कार्यक्रममा तीन दर्जनभन्दा बढी महिला उद्यमी सहभागी भएका थिए ।

‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ नारासहित आयोजना गरिएको तालिममा व्यवसाय प्रवर्द्धनका लागि डिजिटल माध्यमको प्रयोगबारे व्यवहारिक अभ्यास गराइएको आयोजकले जनाएको छ ।

क्यान महासंघ झापाका अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश र केन्द्रका पदाधिकारीले सूचना प्रविधि दिवसको सन्दर्भ र क्यानका गतिविधिबारे जानकारी दिएका थिए ।

तालिममा पत्रकार उमाकान्त खनाल र प्रथम आईटीका विजनेश एक्जुकेटिभ सुरज चिमरियाले सहजीकरण गर्दै सामाजिक सञ्जालमार्फत बजार विस्तार, लक्षित उपभोक्तासम्म पुग्ने रणनीति तथा एआई प्रयोग गरेर विज्ञापन सामग्री तयार गर्ने सीप सिकाएका थिए ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरूले डिजिटल सीपले व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष शर्मिला अधिकारी र उद्यमी एलिना रिजालले तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको सञ्चालन क्यान झापाका उपाध्यक्ष लोकनाथ खनालले गरेका थिए भने सदस्य गोपाल काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार ००:००  ६ : ४८ बजे