झापा-पूर्वी नाका काँकरभिट्टाबाट हुने आयातमा पेट्रोलियम पदार्थको निर्भरता अझै उच्च देखिएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को चैत मसान्तसम्म पेट्रोलियम आयातबाट मात्रै रु ७ अर्ब ४४ करोड ७८ लाख राजस्व संकलन भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा कुल रु १६ अर्ब ८१ करोड ३६ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलाले आयातको मुख्य हिस्सा ओगटेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार ९ महिनामा रु ७ अर्ब ७५ करोड ९४ लाख मूल्यको ८३ हजार ४४८ किलोलिटर पेट्रोल भित्रिएको छ भने रु ५ अर्ब ८७ करोड १८ लाख बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।
यस्तै, रु १ अर्ब ९० करोड ५९ लाखको १९ हजार १३६ मेट्रिक टन एलपी ग्यास, रु ५७ करोड ५१ लाखको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा रु ७० करोड १२ लाख मूल्यको ३४ हजार ५२४ मेट्रिक टन कोइला आयात भएको छ ।
भन्सारका अनुसार समग्र राजस्व संकलनमा पेट्रोलियम पदार्थकै ठूलो योगदान देखिएको छ ।
















