मोरङ-विराटनगर विमानस्थलबाट काठमाडौँ जान लागेका एक यात्रु करिब ३३ तोला चाँदीसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर-१ का ४४ वर्षीय आशिष रिजाल छन्।
मंगलबार अपराह्न श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ जान लागेका बेला विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
विमानस्थलमा खटिएको प्रहरीले जाँचका क्रममा उनले बोकेको चाँदी फेला पारेको थियो। बरामद चाँदीको बजार मूल्य एक लाख ७० हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
चाँदीसँग सम्बन्धित बिलबिजक वा अन्य वैध कागजात प्रस्तुत गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।
पक्राउ परेका रिजालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















