८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मेचीनगरमा नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक



बिर्तामोड-मेचीनगर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विभिन्न खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य तत्कालका लागि बन्द गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले वैशाख ४ गते सूचना जारी गर्दै आर्थिक वर्ष २०८२-८३ का लागि IEE प्रतिवेदनले निर्धारण गरेको परिमाणअनुसार अनुमति दिइएको नदीजन्य सामग्रीको उत्खनन तथा संकलन तोकिएको सीमा पुगिसकेको जनाएको हो।

नगरपालिकाका अनुसार अब अर्को व्यवस्था नभएसम्म निन्दा खोला, मेची खोला तथा टिमाई-हडिया खोलाका तोकिएका नाकाबाट ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न नपाइने भएको छ।

सूचनामा उल्लेख गरिएका नाकामध्ये निन्दा खोलाको सुनगाभा टोल निन्दा बगर, निन्दा खोलाकै सुखिया बडी मोहन किटा, मेची खोलाको प्रसाद गौंडा दक्षिण तथा टिमाई खोलाको पशुपतिनगर पूर्व टिमाई बगर क्षेत्र समावेश छन्।

नगरपालिकाले सूचनाविपरीत नदीजन्य पदार्थ उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामार्फत नदीजन्य स्रोतको संरक्षण तथा नियमनका लागि यस्तो निर्णय गरिएको जनाइएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार ००:००  ९ : २१ बजे