६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

बेलबारी सेमिफाइनलमा : रेडहर्समाथि ४-३ को रोमाञ्चक जित



बिर्तामोड– मोरङको बेलबारी फुटबल क्लब ‘एनी चौथो बुट्टाबारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा बेलबारीले इलामको रेडहर्स फुटबल क्लबलाई ४-३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

बेलबारीले पहिलो हाफमै २-० को अग्रता लिएको थियो। उसका लागि २५औँ मिनेटमा एमोस लिम्बूले पहिलो गोल गरे भने ४०औँ मिनेटमा योना लिम्बूले दोस्रो गोल थपे।

दोस्रो हाफमा रेडहर्सले आक्रामक खेल प्रदर्शन गर्दै पुनरागमनको संकेत गरेको थियो। पहिलो हाफमा दुई गोलले पछि परेको रेडहर्सले लगातार तीन गोल फर्काउँदै खेल आफ्नो पक्षमा मोड्ने प्रयास गरेको थियो।

तर, ५८औँ मिनेटमा बेलबारीका गिल्सन गिरी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। संख्यात्मक दबाबमा परे पनि बेलबारीले संयमित खेल खेल्दै पुनः लय समात्यो।

बेलबारीका लागि ७०औँ मिनेटमा विजय उराउले बराबरी गोल फर्काए। त्यसको चार मिनेटपछि असिम कार्कीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। त्यसपछि रेडहर्सले बराबरीको अवसर खोजे पनि सफल हुन सकेन।

खेलको ‘म्यान अफ द म्याच’ बेलबारीका विजय उराउ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। पुरस्कार बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र अर्जुनधारा-११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले प्रदान गरेका थिए।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीले जनही १० हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।

प्रतियोगिताअन्तर्गत सोमबार ब्रदरहुड फुटबल क्लब उदयपुर र जलथल फुटबल क्लब झापाबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार ००:००  ७ : १५ बजे