झापा-अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवा चौबिसै घण्टा सञ्चालनमा राख्दै अबदेखि शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै चैत २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न आइतबारका पूर्वनिर्धारित शल्यक्रियासहितका सेवाहरू बिरामीको सहजता हेरी पुनः तालिका मिलाइनेछ।
अन्तरंग तथा आकस्मिक सेवा भने यसअघिजस्तै चौबिसै घण्टा सञ्चालनमा रहने जनाइएको छ। मन्त्रालयले नयाँ व्यवस्था लागू भए पनि आकस्मिक तथा जीवनरक्षक सेवामा कुनै अवरोध नआउने दाबी गरेको छ।
सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा’ नीति कार्यान्वयनसँगै बिदाका दिन बिरामीले सास्ती नपाउने गरी सम्भव भएसम्मका सेवा उपलब्ध गराउन मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ।
उपलब्ध नभएका सेवाका लागि नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न पनि भनिएको छ।
















