काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री, सांसद तथा स्वकीय सचिवहरूबाट मासिक लेबी उठाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्रीबाट मासिक १८ हजार रुपैयाँ र सांसदबाट १६ हजार ५ सय रुपैयाँ लेबी लिने निर्णय गरेको हो।
पार्टीका महामन्त्री कबीन्द्र बुर्लाकोटीका अनुसार मन्त्रीका स्वकीय सचिवबाट पनि मासिक २ हजार रुपैयाँ लेबी लिने व्यवस्था गरिएको छ। आगामी दिनमा सांसदहरूले पनि स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था लागू भए उनीहरूबाट पनि सोही दरमा रकम संकलन गरिने निर्णय भएको उनले बताए।
रास्वपाका हाल १६ मन्त्री र १ सय ८२ सांसद रहेका छन्। यसअनुसार पार्टीले मासिक करिब ३२ लाख ९१ हजार रुपैयाँ लेबी संकलन गर्ने अनुमान गरेको छ। त्यसमध्ये प्रधानमन्त्रीसहित मन्त्रीहरूबाट मात्रै २ लाख ८८ हजार रुपैयाँ र सांसदहरूबाट ३० लाख ३ हजार रुपैयाँ उठ्नेछ।
यो दर यथावत रहे पाँच वर्षको अवधिमा पार्टीले लेबीबाट मात्रै १६ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने देखिएको छ। यसअघि २०७९ सालमा रास्वपाले मन्त्रीबाट ३० हजार र सांसदबाट २५ हजार रुपैयाँ मासिक लेबी उठाउने गरेको थियो। त्यतिबेला पार्टीका २१ सांसद मात्र थिए।
रास्वपाले तय गरेको नयाँ लेबी दर अन्य प्रमुख दलहरूको तुलनामा बढी हो। यसअघि नेकपा एमालेले सांसदबाट मासिक १३ हजार रुपैयाँ र नेपाली कांग्रेसले १० हजार रुपैयाँ लेबी लिँदै आएका थिए। तत्कालीन नेकपा माओवादी केन्द्रले भने १२ हजार रुपैयाँ उठाउने व्यवस्था गरेको थियो।
बैठकले महामन्त्री बुर्लाकोटीलाई प्रमुख सचेतकको जिम्मेवारी पनि दिएको छ। सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।
















